कोरोनाका कारण त्रिभुवन विमानस्थलको आम्दानी ७० प्रतिशतले खुम्चियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी कोरोनाका कारण ७० प्रतिशत खुम्चिएको छ ।
कोरोनाका कारण यस बर्ष आन्तरिक तथा बाह्य क्षेत्रमा उडान गर्न नसक्दा गतवर्षको चैत्रदेखी यस वर्षसम्ममा आम्दानी ७० प्रतिशत खुम्चिएको हो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले करिब ५ महिनाको अवधिसम्म मात्र उद्धार उडान हुँदा आम्दानी खुम्चिएर ३ अर्बमा सिमित भएको जानकारी दिएका छन् ।
विमानस्थलले वार्षिक १० अर्ब बढि आम्दानी गर्दै आएकोमा यस बर्ष कोरोनाका कारण ३ अर्बमा सिमित भएको हो ।
यस अवधिमा आन्तरिक तर्फका उडान कोभिड अघि कै अवस्थामा रहेपनि बाह्य तर्फको उडानमा अझै पनि सुधार हुन सकेको छैन ।
हाल ८० प्रतिशत उडान आन्तरिक तर्फ हुँदा बाह्य तर्फ जम्मा २० प्रतिशत मात्रै हुने गरेको छ ।आन्तरिक तर्फ यात्रुको संख्या तथा यात्रुहरुको सेवा शुल्क पनि कम हुने हुँदा आम्दानी कम हुने गरेको छ ।
तर कोभिड महामारी बिचमा यात्रुहरुको चाप कम हुँदा विमानस्थलमा पुर्वाधार विकासका काम भने बढी भएको विमानस्थलको दाबी छ ।
विमानस्थलले आगामी दिनमा व्यवस्थापन पक्ष सुधार्दै गुनासा नआउने गरि काम गरिरहेको समेत जनाएको छ ।