जनकपुरमा होटेलको पाँचौ तल्लाबाट हाम फालेर एक महिलाको मृत्यु, घटना शंकास्पद
प्रदेश नं २ स्थित जनकपुरको एक होटेलमा दुईदिनदेखि बसिरहेकी एक महिलाको हाम फालेर मृत्यु भएको छ ।
रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी महिलाको होटेलबाट हाम फालेर वा खसालेर ज्यान गएको अवस्थामा शव फेला परेको हो ।
होटेल छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव भेटिएको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।
आफैले हाम फालेर मरेको वा मारिएको विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनका श्रीमान विश्वास सिर्पालीका अनुसार होटलको पाँचौ तल्लाबाट उनी हाम फालेर गएराति आत्महत्या गरेकी हुन् ।
राति हामी १२ बजेसम्म गफगाफ गरेर सुत्यौँ । साढे तीन बजे ब्युझिदा मैले उसलाई देखिन अनि खोज्न थाले,’ उनले भने ।
११ दिन पहिले आफु विदेशबाट फर्केको प्रहरी समक्ष उनले बताएका छन् ।तर घटना शंकास्पद देखिएको भन्दै प्रहरीले विभिन्न एंगलबाट अनुसन्धान गरिरहेको छ ।