Logo
५ आश्विन २०८१, शनिबार
(March 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको जोखिमले भारतसँग जोडिएका नाकाहरुमा फेरि कडाइ

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ ।

नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश फर्किन थालेका छन् । यसले नेपालमा पनि सङ्क्रमण भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको महाशाखाले बताएको छ ।

मुख्यगरी भारतसँगका १४ वटा नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको छ ।

भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।

प्रकाशित मिति: Mar 21, 2021

प्रतिक्रिया दिनुहोस्