Logo
५ आश्विन २०८१, शनिबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ ! सहभागी हुन सकिन्न : नेपाल पक्ष

नेकपा एमाले (खनाल–नेपाल) पक्षले भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ । अनुकूल समयमा संसदीय दलको बैठक बोलाए सहभागी हुने उक्त समूहले बताएको हो ।

बुधवारदेखि शुरू भएको झलनाथ खनाल–माधव नेपाल पक्षको कार्यकर्ता भेलाबारे जानकारी गराउन भेलास्थल सानेपामा आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले कार्यकर्ता भेलाको कार्यव्यस्तताका कारण भोलिको बैठकमा उपस्थित हुन नसक्ने भनेर जानकारी गराइसकिएको बताए ।

‘संसदीय दलका नेताले भोलि बालुवाटारमा बैठक बोलाउनुभएको खबर आएको छ । संसदीय दलको नेता र सचिवालयलाई एमालेको राष्ट्रिय कार्यकर्ता भेला आयोजना भइरहेको छ । यसमा पार्टीका नेता, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको सहभागिता छ । हामीलाई संसदीय दलको बैठकमा जान समस्या छैन । दलप्रति आपत्ति होइन, तर भेलाको कार्यव्यस्तताका कारण उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं,’ भट्टराईले भने, ‘अनुकूल समयमा हुने बैठकमा सहभागी हुन्छौं ।’

प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । एमाले मुख्य सचेतक विशाल भट्टराईले भोलिको बैठकका लागि अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप जारी गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भट्टराईले नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन भेलाको आयोजना गरिएको बताए ।

‘एमालेबाट छुट्टिनका लागि यो भेला गरेको होइन, यदि त्यसो हुन्थ्यो भने पार्टीको नाम अलग हुन्थ्यो । उतापट्टिको चाहनाचाहिँ छुट्टिएर जाऊन् भन्ने छ,’ पत्रकारको एक प्रश्नको जवाफमा भट्टराईले भने, ‘यो भेला पार्टीलाई अझ सुदृढ बनाउनका लागि हो । एमालेलाई पुरानै अवस्थामा फर्काउनका लागि हो । प्रधानमन्त्री ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्कन तयार भएमा पार्टी एकता बच्छ र फर्किनुबाहेक अर्को विकल्प पनि छैन ।’

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्