जसपाले संसदीय दलको नेता चयन गर्न सकेन, प्रधानमन्त्रीको दाबी गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको बताइन्छ ।
नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् । बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ ।
जसपा नेपालले विकसित राजनीतिक परिस्थितिका बारेमा दलहरूसँग छलफललाई निरन्तरता दिने भएको छ । संसदीय दलको बैठकले दलहरूसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको हो ।
यसैबीच जसपाले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए।
‘धेरैपटक अरुलाई समर्थन गरियो अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठेको छु, बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, ‘यस विषयमा एमाले, काँग्रेस र माओवादीसँग कुराकानी हुन्छ।’
बैठकमा संसदीय दलको विधान निर्माणका विषयमा छलफल भएको छ। संसदीय दलको नेता चयन गर्ने भनिएपनि विधान निर्माण भइनसकेकोले नेता चयन नभएको बताइएको छ। ‘विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुन्छु, अध्यक्ष उपेन्द्र यादवले भने।
प्रतिगमनकारी, लोकतन्त्र र संघीयता विरोधी शक्तिसँग कुनै किसिमको सहयात्रा हुन नसक्ने भन्दै उनले ओली कदमविरुद्ध सडक संघर्षमा उत्रिएकाहरु एकैठाउँमा आउनसक्ने बताए।
सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको उनको दाबी छ। नेपाली कांग्रेससँग सत्ता समीकरणका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक केहीबेर बसेर सेकिएको थियो।