Logo
५ आश्विन २०८१, शनिबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डागर्दी नरोकिए प्रतिवाद गर्ने भीम रावलको चेतावनी

सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा अध्यक्ष केपी ओली पक्षका नेता कर्ण थापाको निर्देशनमा तोडफोड गरिएको आरोप लगाएका छन्।

पार्टी कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै उनले घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन्। घटनामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको दाबी छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले घटनाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि जानकारी गराईसकेको बताए।

उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए।

उनले भने, ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए। बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे। म यो घटनाको निन्दा गर्छु। यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो।’

उनले विभिन्न ठाउँबाट मान्छे ल्याएर पार्टी कार्यालयमा गुण्डागर्दी गरिएको दाबी गरे।

‘सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि। आज विहान साढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरुलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो। हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाइएको थियो। पाँच वटा कुर्सी भाँचेका छन्।’

उनले अदालतकाे फैसला अनुसार सुदूर पश्चिम संयाेजककाे हैसियतमा आफूले एमालेकाे बाेर्ड राख्न लगाएकाे तर कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी गरे।

उनले भने, ‘आज त्यहाँ गुण्डागर्दी शैलीमा प्रस्तुत भए। यसो नगर्नुहोस भनिएको थियो। अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साईनबोर्ड राख्न निर्देशन दिएको थिएँ। सोहीअनुसार राखिएको थियो। तर, आज बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरियो। म संयोजक थिएँ। मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो।’

उनले यसरी नै गुण्डागर्दी, अराजकता लैजानै, मनपरीतन्त्र गर्ने हो भने आफूहरुले पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।

रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए। अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त? भन्दै उनले प्रश्न गरे।

कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको हो। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्