भावी रणनीति तय गर्न माधव–झलनाथ गुटको भेला बानेश्वरमा
नेकपा एमालेको माधव-झलनाथ पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो ।
एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन् । यसबीचमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरूले माओवादीबाट आएका नेताहरूको व्यवस्थापनलगायतका विषय टुंगो लगाउँदैछन् ।
‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित पेरिसडाँडाबाट छुटेको माधव नेपाल पक्षले आज अपरान्ह आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको छ । केन्द्रीय सदस्य हरिबहादुर राईले बैठक बोलाइएको पुष्टि गरे ।
अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ । अध्यक्ष ओलीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।