Logo
५ आश्विन २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् पुनःस्थापना भएर प्रचण्ड–नेपालले के जिते ? मलाई थाहा छैन् : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालले प्रतिनिधिसभा पुन:स्थापनाको खुसियालीमा एक-अर्कालाई लड्डु खुवाएकोप्रति कटाक्ष गरेका छन् । कृषि मन्त्रालयले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् पुन:स्थापना भएर प्रचण्ड र नेपालले के जिते ? आफूलाई थाहा नभएको बताए ।

सर्वोच्च अदालतको फैसला सामान्य प्रक्रिया भएको भन्दै त्यसमा खुसियालीमा लड्डु खुवाएको भन्दै उनले कटाक्ष गरेका हुन् । “प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु । हिजो अदालतको फैसलालो असर गरेको त होइन । केही भाइहरूले लड्डु खुवाएछन् खुसी भएर । के जिते ? मलाई थाहा छैन । के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि-पर्सिबाट फेरि राजीनामा देऊ भन्नुहुन्छ होला ।” त्यस्तै उनले पदमा रहुन्जेल राम्रो काम गर्ने आफ्नो संकल्पमा अदालतको फैसलाले कुनै असर नगर्ने पनि बताए ।

इतिहासमा धेरैले गौतम बुद्धको नाम सम्झिए पनि धेरै मान्छे प्रधानमन्त्री, राजा महाराजा भए कसले सम्झिएको छ ? भन्दै उनले भने, “अनन्तकालसम्म मलाई सम्झिरहनुहुन्छ भन्ने कुनै भ्रम छैन । म भ्रमहरूबाट मुक्त मान्छे हुँ ।”

को मान्छे कति बेला मर्नसक्छ ठेगान नहुने भन्दै उनले जतिबेलासम्म बाँचिन्छ राम्रो काम गर्ने र गतिशील हुने आफ्नो संकल्प रहेको पनि बताए । उनले जुनसुकै परिस्थितिमा पनि एकसमान रहने, नअत्तालिने आफ्नो स्वभाव रहेको भन्दै देश बनाइ छाड्ने सकंल्पमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आफू प्रधानमन्त्री भएपछि हरेक क्षेत्र नयाँ युगमा प्रवेश गरेको दाबी पनि गरे ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्