Logo
५ आश्विन २०८१, शनिबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवसँगको वार्तालाई सफल पार्न को-को सक्रिय छन् ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तालाई सफल पार्न विशेषतः सरकारका दुई मन्त्री सक्रिय देखिएका छन् ।

उच्च स्रोतका अनुसार खानेपानीमन्त्री थापा र विप्लवका केन्द्रीय तहका नेताहरुबीच उपत्यकाकै आसपासमा वार्ता भइरहेको छ।

‘अहिले सरकारबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र मणि थापा वार्ताका लागि सक्रिय हुनुहुन्छ,’ विप्लव निकट उच्च स्रोतले भन्यो, ‘हामीले पनि तीन सदस्यीय टोली गठनको तयारी गरेका छौँ। सरकारको वार्ताटोलीमा कति सदस्य हुन्छन्, त्यसकै आधारमा संख्या थपघट गर्छौँ।’

आइतबार दिउँसोदेखि भएको वार्ताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्टिङ गरेपछि सरकारले सो पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवाको निर्णय हुनेछ।

संभवतः सोमबार सरकारबाट यो निर्णय आएसँगै दुवै पक्षले औपचारिक वार्ता टोली घोषणा गर्नेछन्।

विप्लवनिकट उच्च स्रोतका अनुसार पक्राउ परेका नेता धर्मेन्द्र बास्तोलासँग तीनपटक छलफल गरेपछि सरकार विप्लवसँग वार्ता गर्ने निर्णयमा पुगेको हो।

सरकारले सकारात्मक वातावरण बनाए महासचिव विप्लव नै सार्वजनिक हुने ती नेताले बताए।

अहिले विप्लव सरकारको जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको जनाएका थिए।

‘हामी सरकारको जवाफ कुरिरहेका छौँ,’ ती नेताले भने, ‘प्रतिबन्ध फुकुवा र सरकारले गिरफ्तार गरेका हाम्रा साथीहरुलाई रिहा गरेर वार्ताको वातावरण बनाउनुपर्छ।’

सरकारले प्रतिबन्ध लगाएपछि महासचिव विप्लव भूमिगत भएका थिए।

‘यदि सहज वातावरण बनाए विप्लव सार्वजनिक हुनुहुनेछ,’ ती नेताले थपे।

सहज अवस्था भए सो पार्टीले तीन सदस्यीय वार्ता टोली गठन गर्ने तयारी गरेको उनको भनाइ छ।

ललितपुरको बागमती गाउँपालिका–७ बाट पक्राउ परेका धर्मेन्द्र बास्तोला, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र ट्रेड युनियनमा रहेका एक नेता वार्ता टोलीमा रहने ती नेताले जानकारी दिए।

सरकारसँग वार्ताको तयारी गर्न आएकै बेला पुस २९ गते बास्तोला पक्राउ परेका थिए।

एकीकृत जनक्रान्तिको अवधारणा लिएर हिँडेका विप्लवका कार्यकर्ताले दुई वर्षअघि विभिन्न स्थानमा बम विस्फोट गराएपछि सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।

माघ २० गते खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए। थापाले वलीलाई भेट्नुको उद्देश्य नै वार्ताको वातावरण बनाउन भएको बताइएको छ।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्