Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुखमा नियुक्त झालाई १०१ किलोको माला लगाएर स्वागत

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई १०१ किलोमा माला लगाएर स्वागत गरिएको छ ।

आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरे ।

ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे ।

ओली समर्थित युवाहरुले प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद नारा लगाएका छन् । सपथ लिने बेला दौरा, सुरुवाल र टोपी पहिरिएका झा जनकपुरधाम झरेपछि कुर्ता, पाइजामा र गम्छामा देखिए ।

उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल गएका थिए । उनले विशिष्ट कक्षमा झालाई स्वागत गरे ।

यसअघि तिलक परियार प्रदेश प्रमुख बनेर आएपछि मुख्यमन्त्री लालबाबु राउतसहित केही मन्त्री आफैं स्वागतका लागि विमानस्थल पुगेका थिए ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले झालाई स्वागत नगर्ने यसअघि नै बताइसकेका थिए ।

प्रदेश प्रमुखको रुपमा आएका झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । पूजापाठ पश्चात उनी आफ्नो निवास जाने कार्यक्रम रहेको छ ।

प्रदेशका प्रमुख तिलक परियारलाई पदमुक्त गरेर संघीय सरकारले गत शुक्रबार झालाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्