संसद् विघटन मुद्दामा सर्वोच्चमा एमिकस क्युरीको आज बहस सकिदै
संसद् विघटनविरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा एमिकस क्युरीको सर्वोच्चमा आज बहस सकिदै छ ।
एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन शुरु गरेकी छिन् । यसअघि चार जना वरिष्ठ अधिवक्ताले इजलासलाई राय दिइसकेका छन् ।
तीमध्ये तीन अधिवक्ता संसद् विघटन गर्न नमिल्ने पक्षमा देखिएका छन् भने एक अधिवक्ताले संसद विघटन हुन सक्ने राय दिएका छन् ।
संग्रौलाको राय सकिएसँगै फैसला आउने मिति टुंगो लाग्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।इजलासले सहयोगीका रुपमा नेपाल बारका तर्फबाट तीन र सर्वोच्च बारका तर्फबार दुई वरिष्ठ अधिवक्ता माग गरेको थियो ।
वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले यसअघि नै राय दिइसकेका छन् । त्यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।
संसद् विघटन असंवैधानिक रुपमा भएको र लोकतन्त्र विरुद्ध भएको भन्दै परेका रिटमाथि सुनुवाइ अन्तिम चरणमा पुगेको हो ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।