पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध ग्यास सिलिण्डरसहित जसपाको प्रदर्शन
बिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध ग्यास सिलिण्डरसहित प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले ग्यास सिलिण्डरका साथै थाल र चम्चासहित प्रदर्शन गरेका हुन्।
जसपाले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। नेपाल आयल निगमले माघ २८ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो। निगमले त्यतिबेला पेट्रोल, डिजेल र मट्टितेलमा समान दुई रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ मूल्यबृद्धि गरेको थियो।
त्यसको एक साता नबित्दै निगमले दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ। निगमले मंगलबारदेखि फेरि पेट्रोल, डिजेल र मट्टीतेलमा थप दुई–दुई रुपैयाँ मूल्य बढाएको हो।