Logo
६ आश्विन २०८१, आईतबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भागरथीमाथि बलत्कार गर्ने दिनेश कुकुरको सहायतामा समातिए

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा साढे दुई वर्ष बित्दा समेत दोषी पक्राउ गर्न नसकेर आलोचित बनेको प्रहरी भागरथी भट्टको घटनामा शुरूदेखि होसियार देखिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी घटनाको तेस्रो दिन अर्थात माघ २३ गते शुक्रबार तालिमप्राप्त कुकुर र अनुसन्धान टोलीसहित घटनास्थल पुगेका थिए ।

संघीय प्रहरी एकाई कार्यालय, कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबीसहितको टोली पनि घटनास्थलमा पुगेको थियो । संघीय प्रहरी कार्यालय, धनगढीका एसएसपी मुकेश सिंह र जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले समेत स्थलगत अनुसन्धान गरेको थियो ।

डीआईजी सुवेदीका अनुसार प्रहरीका अनुसन्धान अधिकारी र चिकित्सकसहितको टोलीले विभिन्न कोणबाट अनुसन्धान गरी प्रमाणहरू संकलन गरेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘घटनापछि अनुसन्धानमा खटाइएको तालिमप्राप्त कुकुरले नै मृतक भागरथीको मोबाइल शव भेटिएको ठाउँभन्दा केही पर फेला पारेको थियो । कुकुरले घटनास्थल नजिकै रहेको खोचलेक बजारतर्फ संकेत गरेको थियो ।’

त्यही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले कुकुर डुलाउँदै विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरू भएको घटनास्थलमा पुर्‍याउने समयसम्म दिनेश गोरु चराउने निहुँ गरेर घरै बसेका थिए । त्यतिबेला उनीमाथि कसैको शंका थिएन । डीआईजी सुवेदीका अनुसार कुकुरले सुँघेर आफूलाई पत्ता लगाउन सक्छ भन्ने त्रासका कारण दिनेश घटनास्थल नगई गोठालो गएका थिए ।

अनेक कोणबाट अनुसन्धान गरिरहेको प्रहरी टोलीले उनको गतिविधि सूक्ष्मरूपमा नियालिरहेको थियो । शुरूमा दिनेशले अनुसन्धान अधिकृतसँग झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक हुने, चिढिने, झर्किने जस्ता व्यवहार देखाएका थिए ।

ती अनुसन्धान अधिकारीले भने, ‘दिनेश बिस्तारै गल्दै गए । अन्तत: उनको बयान र सबुत प्रमाणका आधारमा उनलाई पक्राउ गर्न सफल भयौँ ।’ प्रहरीले उनलाई फागुन ४ गते घरबाट नै पक्राउ गरेको हो ।

भागरथीको हत्यको घटनामा न्याय माग्दै हुने प्रदर्शनमा दिनेश पनि दैनिकजसो सहभागी हुने गरेका थिए । शंकास्पद गतिविधिका कारण प्रहरीले शुरूदेखि नै उनलाई निगरानीमा राखेको थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गरी न्याय दिन आवाज उठ्न थालेको थिए । जुलुसहरूमा ती किशोर पनि देखिन्थे तर उनी प्रहरी देख्दा डराउँथे, भागरथीलाई न्याय दे भनेर हुने जुलुसमा उनी पनि हात उठाउँथे ।’ अन्तत: तीनै किशोर पक्राउ परे ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्