जनताको विश्वासमा तातो पानी खन्याउदैँ संघीयतालाई नै कमजोर बनाउने काम भयो : शेरधन राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिले जनताको विश्वासमा तातो पानी खन्याउदैँ संघीयतालाई नै कमजोर बनाउने काम भएको टिप्पणी गरेका छन् ।
प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका हुन् ।
अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने पनि बताए ।‘प्रदेशमा जनातामा पैदा भएको विश्वास, उत्साह र आशामा तातो पानी खन्याउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको छ’ उनले भने ‘मुख्यमन्त्रीको विरुद्व आएको अविश्वासको प्रस्तावलाई हामीले सामना गर्नुपर्ने भएको छ ।’
संसदीय व्यवस्थाको प्रचलित नियम विपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईले बताए ।
प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध नेकपा दाहाल-नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । यद्यपि उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन ।
प्रदेशस भाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने उनले बताए ।सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर ६ महिने, ९ महिने सरकार बनाउने खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद भङ्ग गरेको मुख्यमन्त्री राईले बताए ।
शून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले बताए । त्यस्तै, प्रदेश १ का प्रमुख सोमथान अधिकारी प्यासीले प्रदेश सरकार सफल भएको बताएका छन् ।
तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार सफल भएको बताएका हुन् ।विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताउँदै उनले तीन वर्षमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए ।
आफ्नो वार्षिक उत्सवका अवसरमा प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका सार्वजनिक गरेको छ ।