Logo
६ आश्विन २०८१, आईतबार
(February 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल खुला छ, केपी ओली जिन्दावाद’ भन्दै आमहड्तालको ठाउँठाउँमा प्रतिवाद

नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्।

प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो।

पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्‍याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो।

पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरूद्ध जुलुस निकालेका ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो।

ओली समूहको विरोध जुलुस गएपछि प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध नाराबाजी गरेका थिए भने ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका थिए।

प्रहरीले उनीहरू दुबै समूहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो।

दुबै पक्षले नाराबाजी गरेपछि केहीबेर कार्यकर्ताहरूबीच भनाभन भएको थियो।

प्रचण्ड-नेपाल पक्षले नेपाल बन्द गरेर सर्वसाधारणलाई दु:ख दिएकाले विरोध गर्नुपरेको ओली पक्षीय अनेरास्ववियुका केन्द्रीय सदस्य केशव सापकोटाले बताए।

प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता पोखराका चोक-चोकमा बसेर सवारी साधन आवागमनमा अवरोध गरिरहेका छन्।

सवारी साधन चल्न अवरोध गरेको भन्दै प्रहरीले प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता विनायक तिमिल्सिनालाई पक्राउ गरेको छ। पोखरामा अहिलेसम्म तोडफोड र झडप भने नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

यसैबीच,धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ। आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले धनगढीमा प्रदर्शन सुरु गरेका हुन्।

उनीहरुले गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्।

उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्‍याली र नाराबाजी गर्दै अघि बढेका थिए। ‘व्यापारी साथी एक हौं बन्द गर्न पाइदैन, बन्दलाई खुला गरौं… ’लगायतका नारा उनीहरूले लगाएका थिए।

प्रचण्ड–नेपाल समूहको नेकपाका कार्यकर्ता महडताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन्।

दुबै समूहका कार्यकर्ता सडकमा आएपछि झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ।

धनगढीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

इटहरीमा साना व्यवसायीले हड्तालले आफ्नो रोजिरोटीमा समस्या पर्ने भन्दै बन्दको विरोध गरेका छन् ।

इटहरी चोकको आइतबारे लाइनमा युवाहरूले ‘गरिखान देऊ’ भन्दै आफ्नो पसल खुल्लै राखेका छन् ।

ती पसलमा ‘नेपाल खुल्लै छ’ लेखिएका कागज टाँसिएका थिए । आइतबारेको कफिलयमा भेटिएका इटहरी २० का युवा शुभेच्छु देवानले आन्दोलनकारीले बन्दको विकल्प खोज्नुपर्ने बताए ।

सडकमा जुत्ता सिउन बसेका इटहरी गैसारका फाकु हरिजले एकदिन व्यापार भएन भने साँझ के खाने भन्‍ने ? चिन्ता हुने गुनासो गरे ।

प्रकाशित मिति: Feb 4, 2021

प्रतिक्रिया दिनुहोस्