यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा, घुससहित दुई जना पक्राउ
प्रदेश नं २ स्थित जनकपुर यातायात कार्यालयमा अख्तियारले छापा मारदा घुस रकमसहित दुई जना पक्राउ परेका छन् ।
जनकपुरको यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले छापा मारेको हो ।
गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो ।
बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।
उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
यातायात कार्यालयमा सेटिङमा लाइसेन्स वितरण हुने गरेको जनगुनासो छ । कर्मचारीहरुले रकम लिएर लाइसेन्सको परीक्षा उत्तिर्ण गराउने गरेका छन् ।
कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।