Logo
१० माघ २०८१, बिहीबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद पुनःस्थापनाका लागि सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौँ : डा. भट्टराई

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुन:स्थापनाका लागि  सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन गर्न आग्रह गरेका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुन:स्थापना नभई चुनाव हुन नसक्ने दावी गरेका छन् ।

डा.भट्टराईले भने ‘सबै कुरा सेटिङमा भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा सेटिङ भएको छ, अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन भएको छ ।’

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको भट्टराईको विश्लेषण छ ।

भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्नेमा बताएका छन् ।

संसद विघटनको घटना हिमशिखरको टुप्पो देखिएको अवस्था मात्र हो भन्दै भट्टराईले अदालतबाट यो नसच्चिए हिम शिखर फुटेजस्तै जोखिम हुने औंल्याए ।

संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याए ।

असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।

भट्टराईले नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको बताए ।

 

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्