Logo
९ मंसिर २०८१, आईतबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेशसभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

वाग्मती प्रदेशको प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित सबै दलको संसदीय दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । अब अर्को बैठक कहिले बस्छ भन्ने अन्योल भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अविश्वासको प्रस्तावमाथि मत विभाजन गर्नुपर्ने प्रचण्ड-माधव समूहका सांसदले भन्दै आए पनि हिउँदे अधिवेशन शुरु गरेको पहिलो दिनमा नै संसद् बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो ।

छ महिनापछि शुरु भएको सातौँ अधिवेशन बुधबार पहिलो बैठक बसेर सदन स्थगन भएको हो । आफ्नै दल नेकपाका सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै अन्योल बनेको वाग्मती प्रदेशसभाको बैठक उक्त विषयले प्रवेश नै पाएन ।

गत साउन ८ गते चालु आव २०७७/०७८ को बजेट पारित गरेर स्थगन भएको प्रदेशसभा आधा वर्ष अवरुद्ध रहेको थियो ।

प्रदेशसभा बैठकको शुरुआतमा सदनमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बोल्ने संसदीय दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मविपरित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

यद्यपि उक्त विषयमा मुख्यमन्त्री पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताए ।

सोही अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले छोटो अवधिमा प्रदेश सरकारले समृद्धि र विकासको काम गरेको दाबी गरे ।

वाग्मती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईदुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक गरी ११० सदस्य रहेका छन् ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्