Logo
३ माघ २०८१, बिहीबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्रीको भारत भ्रमण : कोरोना खोप र नयाँ नक्सा उच्च ‘प्राथमिकतामा’

भ्रमण टोलीमा परराष्ट्र, वाणिज्य, ऊर्जा र स्वास्थ्य सचिव पनि सहभागी

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारबाट हुने दिल्ली भ्रमण मुलतः कोरोना खोप आपूर्तिको र नयाँ नक्साबारेको विषयले उच्च प्राथमिकता पाउने देखिएको छ ।

ज्ञवालीले नेपाल-भारत मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि भारत भ्रमण गर्न लागेका हुन् । बैठकमा नेपाल र भारतबीच रहेका दुई दर्जनभन्दा बढी संयन्त्रमा हालसम्म भएका छलफल र तिनको प्रगति समीक्षा हुनेछ ।

त्यसका लागि दुवै पक्षबाट अन्तिम तयारी भइरहेको छ । आयोगको बैठक द्विपक्षीय संयन्त्रहरूमा हालसम्म भएका छलफलहरूको समीक्षामा सीमित हुने तर थाती रहेका विषयहरूको गाँठो फुकाउने सम्भावना ‘न्यून’ रहेको स्रोतको दाबी छ ।

भ्रमणका बेला दुई देशबीच कोरोनाविरुद्धको खोप आपूर्तिका सम्बन्धमा भने बृहत् छलफल हुने र निर्णय हुने सम्भावना रहेको बताइन्छ ।

‘आयोगको बैठकमा छलफल त दर्जनौं विषयमा होलान् तर उपलब्धिका हिसाबले भ्रमण विशेषगरी खोपमा केन्द्रित होला जस्तो छ,’ स्रोतले भन्यो ।

चर्चामा आएजसरी, लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा वा ईपीजी प्रतिवेदनमा ‘निर्णायक’ कुराकानी हुन सक्ने संकेत देखिएको छैन ।

आयोग दुवै देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रमध्ये सबैभन्दा माथिल्लो हो । आयोगको पाँचौं बैठक गत वर्ष काठमाडौंमा भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र, वाणिज्य, ऊर्जा र स्वास्थ्य सचिव पनि सहभागी हुनेछन् ।

नेपालले पहिलो चरणमा करिब २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि आवश्यक पर्ने खोप खरिदका लागि ७ देशलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ ।

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्