Logo
१४ मंसिर २०८१, शुक्रबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसोका कारण बर्दिबासको एकीकृत नमूना बस्तीमा एकै परिवारका तीन जनाको मृत्यु

हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ ।

बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो ।

पत्रकारको एक समूह बिहीबार मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।

ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।

उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।

एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औं दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको पनि मृत्यु भएको रामरतिले जानकारी दिइन् ।

गरीबी र विपन्‍नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्‍न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् ।

सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्