अन्ततः ट्रम्पले गरे बाइडनको जित स्वीकार, शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् ।
उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।
आफ्ना अन्ध समर्थकहरुलाई भड्काएर संसदमा आक्रमण गराइएको भन्दै ट्रम्पलाई अपदस्थ गरिनुपर्ने दबाब उनकै पार्टी रिपब्लिकनमा पनि बढेपछि २४ घण्टापछि ट्रम्पले घटनाको निन्दा गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सन्देश जारी गर्दै ट्रमपले हिंसा भड्काउन संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका हुन् ।
संसदमा भएको हिंसाबारे शुरुमा कुरा राख्न चाहन्छु भन्दै ट्रम्पले भनेका छन्, ‘सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु । मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए ।’
अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने भन्दै उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी प्रजातन्त्रलाई अपवित्र बनाएको पनि उल्लेख गरेका छन् ।
हिंसामा संलग्नहरुले देशको प्रतिनिधित्व नगर्ने भन्दै उनले भनेको छ, ‘जो मानिस हिंसात्मक घटनामा संलग्न थिए उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन्, र जसले कानुन तोडेको छ उसले कारबाही भोग्नुपर्छ ।’
ट्रम्पले व्यवस्थित सत्ता हस्तान्तरणको लागि तयार रहेको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ । मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्बाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रित भएको छ ।’
अमेरिकी संसदमा आक्रमण गराएपछि ट्रम्पको ट्वीटर, फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका खाता बन्द गरिएको थियो । ट्वीटरले खोले पनि फेसबुक र इन्स्टाग्रामले भने अझै बन्दै गरेका छन् ।
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021