Logo
१२ मंसिर २०८१, बुधबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यमनमा मन्त्रीमण्डलका सदस्यमाथि आक्रमण, कम्तीमा२२को मृत्यु, ५० भन्दा बढी घाइते

यमनको दक्षिणी शहर एडेन सहरस्थित रहेको विमानस्थलमा यमनको नयाँ मन्त्रीमण्डलका सदस्य सवार जहाज माथि आक्रमण हुदाँ कम्तीमा २२जनाको मृत्यु भएको छ ।

साथै उक्त आक्रमणमा ५० जना भन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो ।

प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको स्थानीय अधिकारीले बताएका छन् ।

बिस्फोटमा परि मृत्यु तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

यमनको सूचना मन्त्री इरियानीले हुथी विद्रोहीहरुले कायरतापूर्ण आक्रमण गरेको टिप्पणी गरेका छन् ।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।

त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ। कोभिड–१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।

यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए। त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो। समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन्।

अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताए। हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन।साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग ९टरम्याक०मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ।यमनको एउटा समाचार वेबसाइट अल–मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप-मन्त्री घाइते भएको उल्लेख गरेको छ।

प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो।

सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्