Logo
८ मंसिर २०८१, शनिबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुम्भेश्वर मन्दिर पुनःनिर्माण र जीर्णोद्वारले गति लिँदै

गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त कुम्भेश्वर मन्दिर पुनःनिर्माणले गति लिएको छ ।

गोरखा भूकम्पले पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा अवस्थित कुम्भेश्वर मन्दिर भत्काएको थियो । अहिले सो मन्दिरको पुनःनिर्माण र जीर्णोद्धारले गति लिएको हो ।

विसं २०७३ असारदेखि मन्दिर पुनःनिर्माण र जीर्णोद्धार गर्ने कुरा अघि बढे पनि विभिन्न समस्याका कारण गत वर्ष विसं २०७६ मङ्सिर महिनादेखि काम अघि बढाइएको धर्मेश तुलसी ड्रामा जेभीका प्रतिनिधि दिनेश श्रेष्ठले बताए ।

उनले भने, “मन्दिरको छानोबाट तीन तलामुनि पुनःनिर्माण र यसभन्दा दुई तलामुनि जीर्णोद्धार गर्नुपर्ने छ । मन्दिरको माथिल्लो दुई तला पुनःनिर्माण सकिएर हाल धमाधम तामाको पाता हाल्ने काम भइरहेको छ ।” सो मन्दिरमा प्रयोग हुने सुन, तामा र काठ सहज तरिकाले समयमै पाउने हो भने अबको तीनदेखि चार महिनामा मन्दिर पुनःनिर्माणका साथै जीर्णोद्धारको कार्य समाप्त हुने श्रेष्ठको भनाइ छ ।

सो मन्दिरको छतमा तामा हाल्ने कामको जिम्मा तुलाधर हैंडीकाफ्टले लिइरहेको छ । माथिल्लो तलामा तामा हाल्ने काम सम्पन्न गरेर दोस्रो तलामा पनि लगभग सकिनै लागेको मिस्त्री श्याम तुलाधरले बताए ।

उनले भने, “मन्दिरमा तामाको छत हाल्न शुरु गरेसँगै यसको भाउ बढेको र अझ पनि त्यो महङ्गो हुने आशङ्कामा व्यापारीले तामा दिनै मानेका छैनन् ।” सो मन्दिरमा लाग्ने आवश्यक तामा सहज तरिकाले पाउने हो भने काम छिट्टै सम्पन्न गर्न सकिने तुलाधरले जानकारी गराए ।

कुम्भेश्वर महादेव मन्दिर पुनःनिर्माण र जीर्णोद्धारको काम भइरहँदा काखैमा रहेको बङ्गलामुखी देवीको मन्दिर पनि बिहीबारबाहेक अन्य दिन दर्शनार्थीलाई प्रवेश गर्न रोक गरिएको मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए ।

उनले भने, “मुलुकमा कोभिड महामारी आउनुअघि सातै दिन मन्दिरको मूलढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइरहेका थियौँ । हाल मन्दिर जीर्णोद्धार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबारबाहेक अन्य दिन मन्दिर बन्द गरिरहेका छौँ ।”

कोभिड-१९ कहरअघि कुम्भेश्वर र माता बङ्गलामुखीको दर्शन गर्न प्रत्येक दिन हिन्दू तथा बौद्ध धर्मावलम्बी मन्दिर आउने गरेका शर्माले जानकारी गराए ।

अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पति भएकाले कुम्भेश्वर महादेव भनिएको हो ।

सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर महादेव हो ।

सर्वेश्वर महादेवलाई मृत्युञ्जय पनि भनिन्छ । स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् ।

मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आराधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ ।

सर्वेश्वर महादेव आराधना गरेको खण्डमा रोगव्याधी निको भइ दीर्घायू प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ ।

भगवान् रामले रावणको संहार गरिसकेपछि ब्रम्हहत्या पाप मोचन गर्न कोटी तीर्थ आह्वान गरेर कुम्भेश्वरमा जल निकाली स्नानसमेत गरेको कथन छ ।

प्रत्येक साउन शुक्ल चर्तुदर्शीका दिन भगवान् महादेवले जनै धारण गर्ने हुँदा सो दिन मन्दिरबाट बाहिर झिकी पोखरीमा राखिन्छ ।

कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहँदा साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिन कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्छ ।

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् ।हरेक वर्ष कात्तिक शुक्ल अष्टमी अर्थात् गोपाल अष्टमीका दिन सर्वेश्वर महादेवलाई बुद्धको मुकुट पहिराइन्छ ।

सो दिन आराध्यदेव पशुपतिनाथलाई पनि बुद्धको मुकुट पहिराउने भएकाले सबै शिवजीले बुद्धको रुप धारण गरे । त्यसैगरी शिवरात्रिका दिनमा सबै बुद्धले शिवको रुप धारण गर्ने शर्माको भनाइ छ ।

“महादेव मन्दिरमा हरेक सोमबार, साउनको सोमबार, बालाचतुदर्शी, शिवरात्रि र अक्षय तृतीयाका दिन ठूलो मेला लाग्ने गर्छ”, उनले भने ।

पाटनमा राजा जयस्थिति मल्लले १४ औँ शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए ।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्