Logo
६ आश्विन २०८१, आईतबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी विभाजनसँगै आफ्नो पकड बलियो बनाउन गाउँगाउँमा पस्दै ‘ओली समूह’ !

प्रचण्ड–नेपाल समूहसँगको कलह पछि विभाजनको संघारमा पुगेको नेकपा अन्तर्गतको केपी शर्मा ओली समूह आफ्नो पकड बलियो बनाउन गाउँगाउँमा जान थालेको छ । उक्त समूहले शीर्ष नेताहरुलाई पार्टी फूटको वास्तविकता बताउन गाउँगाउँमा पठाएको हो । यसैक्रममा शीर्ष नेताहरु अहिले प्रदेश स्तरीय प्रशिक्षणमा खटिएका छन् । त्यसलगत्तै गाउँगाउँमा नेताहरु पुग्नेछन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रशिक्षणका लागि सचिवालय, स्थायी कमिटी र केही केन्द्रीय कमिटीका नेताहरुलाई खटाइएको छ। नव मनोनित सदस्यलाई बुधवार एक दिन प्रशिक्षण दिएर जिल्ला हुँदै गाउँसम्म ओलीको पक्षमा महोल बनाउन प्रशिक्षण सुरु हुँदैछ।

सुदूरपश्चिम प्रदेशबाट मनोनित भएकालाई लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र विन्दा पाण्डेले प्रशिक्षण दिने छन्। लेखराज भट्ट पूर्व माओवादी खेमाका नेता हुन्। प्रचण्डसँग निकट रहर लामो समय राजनीति गरेका उनी अहिले ओलीको खेमामा छन्। सुदूर पश्चिममा प्रचण्ड माधवकुमार नेपाल खेमाका भीम रावल ‘टावरिङ पर्सनालिटी’ रहेकाले भट्ट ओलीसँग अडिएका हुन्।

कर्णाली प्रदेशकालाई शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिने तय गरिएको छ। शंकर पोखरेल प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा रहँदै आएका छन्। ओलीको सत्ता डगमगाउँदासाथ उनी प्रदेशको जिम्मेवारी छाडेर काठमाडौं धाइरहेका हुन्छन्। यसपाला ओलीको मिसनमा शंकरको भूमिका महत्वपूर्ण रुपमा हेरिएको छ।

लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटा लगायतका नेताले प्रशिक्षण दिनेछन्। नेकपा महासचिवका हैसियतमा रहँदा विष्णु पौडेल मध्यमार्गी धारमा देखिन्थे। उनी ओली र प्रचण्ड दुवैतिर समान सम्बन्ध राख्दै एकाएक नेकपा महासचिव पद हत्याउन सफल भएका नेता हुन्। अर्थमन्त्रीसमेत रहेका पौडेल यतिखेर ओलीको मिसनका एक महत्वपूर्ण हिस्सा बनेका छन्।

गण्डकी प्रदेशबाट मनोनित भएकालाई टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिनेछन्। टोपबहादुर रायमाझी पूर्व माओवादी खेमाका नेता हुन्। उनले नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमदेखि नै अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन्।

वागमतीका प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिनेछन्। ईश्वर र पद्मा प्रधानमन्त्री ओलीको क्याबिनेटका सदस्यसमेत हुन्। रक्षामन्त्री रहेका ईश्वरलाई पछिल्लो पटक मन्त्रिपरिषद हेरफेर गर्दा ओलीले प्रधानमन्त्री कार्यालयमा तानेका थिए।

प्रदेश २मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले प्रशिक्षण दिनेछन्। रघुवीर महासेठ प्रधानमन्त्रीको टिमकै भए पनि हिजो उनी प्रचण्ड-नेपालको भेलामा पनि पुगेका थिए। त्यहाँ उनको उपस्थिति रहे पनि ओली पक्षको अभियानमा उनी पत्नीसहित जोडिइसकेका छन्।

प्रदेश १ का केन्द्रीय सदस्यलाई सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने तय भएको छ। सुवास नेम्वाङ संविधान निर्माणमा सबैभन्दा मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिसमेत हुन्। तर, प्रधानमन्त्रीका पछिल्ला कदमलाई दिशा निर्देश गर्ने भूमिकामा नेम्वाङ रहँदै आएका छन्। प्रधानमन्त्री ओलीको कदमलाई अवसंवैधानिक भनेर नेकपाकै ठूलो वृत्त एक ठाउँमा उभिँदा पनि नेम्वाङ भने ‌ओलीको रक्षापङ्तिमा डटेर लागिरहेका छन्।

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्