बलात्कारीलाई नपुंसक बनाउने पाकिस्तानमा बन्यो नयाँ कानुन
पाकिस्तानमा बलात्कारविरुद्ध नयाँ कानुन ल्याइएको छ ।
बिबिसीका अनुसार कडा सजायअन्तर्गत बलात्कार ठहर भए दोषीलाई रासायनिक प्रयोगमार्फत नपुंसकसमेत बनाइने व्यवस्था गरिएको हो।
बलात्कारसम्बन्धी मुद्दा चाँडो सम्बोधन गर्न र कडा सजाय दिने उद्देश्यले नयाँ प्रावधान बनाइएको हो । मंगलबार पाकिस्तानका राष्ट्रपतिले बलात्कारविरुद्ध बनेको नयाँ कानुनमा हस्ताक्षर गरेका छन्।
यस अध्यादेशअनुसार यौन अपराधरमा संलग्न व्यक्तिलाई राष्ट्रिय सूचीमा राखिनेछ र पीडितको पहिचान गोप्य राखिनेछ। साथै बलात्कार घटनाका केही अपराधीलाई नपुंसकसमेत बनाउन सकिने उल्लेख छ।
बलात्कारसम्बन्धी मुद्दा सुनुवाइका लागि विशेष फास्ट ट्र्याक अदालत गठन गरिनेछ र त्यसले ४ महिनाभित्र सुनुवाइ सकेर फैसला सुनाउनेछ।
लाहौर सहरबाहिर एक महिलालाई गरिएको सामूहिक बलात्कारपछि पाकिस्तानमा यौन अपराधविरुद्ध व्यापक आवाज उठेको हो। त्यसैको परिणामस्वरूप बलात्कारविरुद्ध कडा कानुन बनाइएको हो।
ती महिला आफ्ना २ बच्चाका साथ लाहौरतर्फ आउँदै थिइन्। त्यसै क्रममा उनीविरुद्ध राजमार्गको किनारमै सामूहिक बलात्कार गरिएको हो।
लाहौरका सबैभन्दा उच्च प्रहरी अधिकारीले घटना हुनुमा महिला स्वयं पनि दोषी रहेको बताएका थिए। त्यसपछि नागरिकलाई झन् आक्रोशित बनाएको थियो।
घटना तथा उनको अभिव्यक्तिविरुद्ध व्यापक विरोध प्रदर्शन हुन थालेपछि पाकिस्तान सरकारले कडा कदम उठाउने प्रतिबद्धता जनाएको थियो।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान तथा उनको मन्त्रिपरिषद्ले गत महिना बलात्कारविरुद्ध उक्त अध्यादेश अनुमोदन गरेको थियो। त्य
सपछि मंगलबार राष्ट्रपति आरिफ अल्वीले अध्यादेशमा हस्ताक्षर गरेका हुन्।तर पाकिस्तानमा यस्ता मानिस पनि छन्, जसले कानुनको आलोचना गरेका छन्।
उनीहरूले सजाय धेरै कडा भएको र सरकारी अधिकारीले यो बनाउनुअघि विचार विमर्श नगरेको आरोप लगाएका हुन्।