Logo
६ आश्विन २०८१, आईतबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७७ वटै जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन कांग्रेसको आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ।

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो।

बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए। ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो। ७७ वटै जिल्लामा गर्ने हो। काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं। सल्लाह त्यही भएको छ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए।

‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन। नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटीरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ। त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं। प्रदर्शन गर्दैगर्दा खेरि आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ,’ उनले भने।

प्रवक्ता शर्माले सरकार बनेपछि बढिरहेको भ्रटाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताए।

‘यो सरकार बनेपछाडी निरन्तर बढिरहेको भ्रष्ट्राचार, स्वास्थ्य सामग्रीको खरिद सम्म भएको भ्रष्ट्राचार देखि लिएर भ्रष्ट्राचारको अनेकन प्रकरणहरुको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ,’ प्रवक्ता शर्माको भनाइ छ।

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेकोसमेत बताए। यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको प्रवक्ता शर्माको भनाइ छ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताए।

हाम्रो २९ गते देशैभरी ७७ वटै जिल्लामा विरोध कार्यक्रम हुन्छ। त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापन बाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ त्यसलाई केन्द्रीत गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रीत हुन्छ। यो प्रारम्भ मात्रै हो,’ उनले भने।

२९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्