Logo
१३ मंसिर २०८१, बिहीबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिसेफलाई आपतकालीन सहयोग लागि २०२१ मा ६ अर्ब ४० करोड डलर बजेट आवश्यक

युनिसेफले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ ।

युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई आपतकालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्नेछ ।

यो रकमका लागि दातृ निकाय समक्ष अपिल गरिएको युनिसेफको प्रधान कार्यालयले जनाएको छ ।युनिसेफले माग गरेको उक्त रकम चालु वर्षको भन्दा ३५ प्रतिशत बढी हो ।

युनिसेफद्वारा जारी वक्तव्यमा कोभिड-१९ महामारीका कारण अति जोखिममा परेका समूदाय खासगरी महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन उक्त रकम जरुरी रहेको उल्लेख छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोडले महाविनाशकारी कोभिड-१९ महामारीसँगै द्वन्द्व, जलवायु परिवर्तन, विपद र विस्थापनका कारण त्यसबाट बालबालिकामाथि पर्ने प्रभाव भयावह हुने बताएका छन् ।

उनले भने, ‘आज कोभिड-१९ का कारण बाल अधिकारमाथि चुनौतीहरु खडा भएका छन् । उनीहरु स्वास्थ्य र अन्य कल्याणका कार्यबाट विमुख हुनु पर्ने अवस्था छ ।’

बालबालिकाका लागि अहिले नियमित खोप अभियान ६० भन्दा बढी मुलुकमा अबरुद्ध भएको छ ।

यस अभूतपूर्व परिस्थितिमा अभूतपूर्व प्रतिक्रिया जरुरी हुने बताउँदै उनले यस घडीमा सबै दातृ निकायलाई बालबालिकाको समुन्नत भविष्यका लागि अझ बढी एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरेका छन् ।

कोभिड-१९ का कारण विद्यालयहरु बन्द भएका कारण झण्डै २५ करोड भन्दा बढी बालबालिका शिक्षाको अवसरबाट बन्चित भइरहेका छन् ।

युनिसेफले आर्थिक अस्थिरताले अत्यावश्यकीय सेवामा असर परेको तथा धेरै परिवारलाई आफ्ना अति जरुरी कुराहरु पूरा गर्न कठिनाई भएको तथा लैंगिक हिंसाका घटना बढेको पनि जनाएको छ ।

साथै, यसै वर्ष नयाँ मानवीय संकट पनि उत्पन्न भएको युनिसेफको भनाई छ ।अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण २८ लाखभन्दा बढी नागरिकलाई अत्यावश्यक सेवा आवश्यक भइसकेको छ ।

मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा १ लाख ९१ हजार बालबालिका समेत ४ लाख २५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

यहाँ व्यक्ति हत्या, अपहरण, सैनिक सेवामा जबर्जस्ती भर्ना तथा बालसैन्यका रुपमा बालबालिकालाई प्रयोग गरिएको युनिसेफको भनाई छ ।

जलवायुसँग सम्बन्धित विपद विगत ३० वर्षमा तीन गुणा बढेको छ । यसबाट खाद्य सुरक्षामा चुनौती थपिएको, पानीको स्रोत घटेको तथा मानिसलाई अन्य पलायन हुन बाध्य पार्नुका साथै द्वन्द्व र सार्वजनिक स्वास्थ्यको जोखिम बढाएको छ ।

ठूल्ठुला आँधीले मध्य अमेरिकी मुलुकमा ठूलो क्षति पुगेको र त्यसबाट जोखिममा रहेका समुदायको संख्या बढाएको छ ।

यहाँ झण्डै २६ लाख बालबालिकालाई असर परेको छ । पूर्वी एसियाका फिलिपिन्स, भियतनाम र कम्बोडिया समेतका मुलुकका १ करोड ३४ लाख बालबालिका प्रभावित भएका छन् ।

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्