Logo
३ माघ २०८१, बिहीबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्मी ड्रेसमा नेपाल आएका चिनियाँ रक्षामन्त्री भन्छन्-‘सम्बन्ध प्रगाढ बनाउन मेरो भ्रमण’

चिनियाँ रक्षामन्त्री रक्षामन्त्री वेई फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए।

‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड-१९ का कारण भ्रमणमा केही विलम्ब भयो ‘, कोभिड-१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए।

प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् । उनको आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ रक्षामन्त्रीलाई उच्च महत्व, गृहमन्त्री थापाद्वारा विमानस्थलमा स्वागत

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणको औपचारिक घोषणा हुनु अघि नै चासो बढेको थियो । नेपाल मामलामा चासो बढाएको चीनबाट उच्च तहमा भएको भ्रमणलाई नेपालले पनि निकै महत्व दियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेङ्हेको स्वागतमा गृहमन्त्री रामबहादुर थापा बादल नै पुगे ।

तस्बिरहर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्