Logo
६ आश्विन २०८१, आईतबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महीनाभित्र अधिकांश च्यानल क्लिन फिड भएर आइसक्ने

सरकारले ७ कात्तिकदेखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाएपछि बन्द भएका अधिकांश सशुल्क च्यानल एक महीनाभित्र आइसक्ने भएका छन्।

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माका अनुसार यसअघि नेपालमा व्यापार गरिरहेका सशुल्क च्यानलमध्ये अधिकांशले क्लिन फिड बनाउन इक्वीपमेन्ट जडान गरिरहेका कारण यही डिसेम्बरभित्र सबैजसो च्यानल आइसक्ने छन्।

स्टारका सबैजसो च्यानलले तयारी गरिरहेका छन्। यसका ३२ वटा च्यानल यही नोभेम्बरभित्र आइसक्ने गरी तयारी भइरहेको छ भने बीबीसी, सीएनएन, अल जजिरासहितका च्यानल पनि सकारात्मक देखिएका छन्।

“ती विदेशी च्यानलले मागेको शुल्क हामीले तिर्न नसक्ने हो कि भन्ने मात्रै चिन्ता हो। नत्र यसअघि नेपालमा व्यापार गरिरहेका सबैजसो विदेशी च्यानल क्लिन फिडमै आउने भएका छन्”, अध्यक्ष शर्माले भने, “भारतीय समाचार च्यानल र निःशुल्क उपलब्ध भएका च्यानलले क्लिन फिड दिन नसक्ने भनेका कारण ती बाहेकका च्यानल आउँछन्।”

क्लिन फिडका कारण बन्द भएका च्यानलको विकल्पमा नयाँ च्यानल पनि आउन थालेको केवल टेलिभिजन व्यवसायीले बताएका छन्। डिजिटल सिस्टम अफ नेपालले यूरोपको १८ नयाँ च्यानल क्निल फिडमा ल्याइसकेको छ। यी च्यानल सञ्चार मन्त्रालयबाट अनुमति लिएर डाउनलिंकको प्रक्रियामा गइसकेका छन्।

चलचित्र, खेलकुद, जीवनशैली, खाना, डकुमेन्ट्री, स्वास्थ्यसहितका सबै वर्गलाई दृष्टिगत गरेर ती च्यानल आएका छन्। यी च्यानल म्याक्स, सुविसुसहितमा आउन थालिसकेका अध्यक्ष शर्माले बताए। यसबाट क्लिन फिडका कारण नेपालबाट बाहिरिएका च्यानलको परिपूर्ति हुने र ग्राहकले गुणस्तरीय च्यानल हेर्न पाउने व्यवसायीको दाबी छ।

अहिले पनि करीब ८० देखि ९० प्रतिशत च्यानल आइसकेको र नआउने च्यानलका विकल्पमा अरु च्यानल आउन थालेकोले कुनै न कुनै रूपमा नेपाली ग्राहकले च्यानल पाउने छन्। अध्यक्ष शर्माका अनुसार ग्राहकको रूचि र स्वभाव परिवर्तन हुँदै गएकोले सेटटप बक्स प्रयोग गरेर टीभी सेटमै टीभी हेर्छन् भन्ने चाहिं छैन।

अन्य माध्यमबाट पनि ग्राहकले सजिलै च्यानल हेर्न पाउने भएकोले टीभीप्रतिको ग्राहकको आकर्षण कायम राखिरहन भने चुनौतीपूर्ण नै रहेको व्यवसायी बताउँछन्।

सूचना तथा प्रसारण विभागका प्रवक्ता ईश्वरराज दाहालका अनुसार केही च्यानलले अनुमति मागेका छन्। तिहार अगाडि नै अनुमति मागेका ६/७ वटा च्यानल डाउनलिंकको प्रक्रियामा रहेको दाहालले बताए।

विभागका अनुसार डीएसएनले नयाँ च्यानल थप गर्न निवेदन दिएकाले त्यसको कागजपत्र अध्ययन गर्ने काम भइरहेको छ। आवश्यक प्रक्रिया पूरा गरेर ती च्यानलले लाउनलिंक अनुमति पाउँछन्।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्