Logo
६ आश्विन २०८१, आईतबार
(November 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँग जोडिएको तातोपानी र रसुवागढीमा ‘नाकाबन्दी’ को झल्को

चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका सहज रुपमा संचालनमा नआउँदा चीनले नाकाबन्दी लगाएको झल्को देखिन थालेको छ ।
नेपाल चीन उद्योग वाणिज्य संघले चीनसँग जोडिएका दुईवटै व्यापारीक नाका तत्काल सहज रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रुपमा सुरु हुने र रोकिने क्रम जारी रहेकाले तत्काल सुचारु हुने सहज वातावरण बनाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका महासचिव विवेक पौडेलले एक विज्ञप्ती जारी गरेर लामो समयसम्म नाका पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

नाका निरन्तर सञ्चालन नहुँदा जाडो, गर्मीयाम तथा चाडबाड लक्षित गरी आयात गरिएका सामान ८–१० महिनादेखि नाकामा अलपत्र रहेको व्यवसायीले बताएका छन् । कतिपय खाद्य सामग्री तथा फलफुल विग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको उनीहरुले बताएका छन् ।

नाका सुरु नभएका कारण व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भइ आन्दोलित हुने अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ ।

नाकामा रहेको अवरोधका कारण माल सामानहरु समयमा नेपाल ल्याइ बिक्री वितरण गर्न नसकेमा व्यवसाय नै धराशाय भइ पलायन हुनुपर्ने अवस्था रहेको संघले जनाएको छ ।

लामो समयदेखि हजारौं ट्रक मालसामानहरु नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरुले दुई देश वीच सडक मार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेको संघको ठहर छ ।

दुई देशबीच कायम रहेको पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी तथा आन्दोलित हुने वातावरण आउन नदिन संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

दसैं अगाडि नै नाका पूर्णरुपमा सुरु हुने भनिए पनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरको छ ।

भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए पनि चिनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना नआउने गुनासो व्यवसायीले गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 7, 2020

प्रतिक्रिया दिनुहोस्