कञ्चनपुरमा एक किशोरीसहित तीन जनाको शव फेला
सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका-११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।
दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
“दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भने, “ घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।”
घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका-६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ ।
गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।
प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् ।
आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।