Logo
९ मंसिर २०८१, आईतबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बडादशैँको छैटौँ दिन : मिथिलामा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै

बडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ ।

पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ । ‘बेलनौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ ।

मिथिला क्षेत्रमा बडादशैँ पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ ।

यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ ।

आज षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ/नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ ।दशहरा (दशैँ) पर्वको छैटौँ दिन यो विधि उत्सवमय वातावरणमा मनाउने मिथिलाको परम्परा छ ।

यद्यपि यसपालि कोभिड-१९ सङ्क्रमण जोखिमले बाजागाजा र भीडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछन् ।

सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भीडभाड नगर्न, नियमित पूजा आराधनाबाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रभरिका लागि घटस्थापनाकै दिन निषेधाज्ञा जारी गरिसकेको छ ।

षष्टीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने मिथिला परम्पराअनुसार ‘बेलनौत’ आज सम्पन्न गरिन लागिएको हो ।

षष्टीका दिन निम्ता गरिएको बेल टिपेर ल्याई निर्मित देवी प्रतिमाको आँखा बेलको भेट्नुले खोस्रेर उघारिएपछि सर्वसाधारणको दर्शनका लागि खुला गरिने परम्परा रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिवास-२ का दिनेशकुमार झा बताउनुहुन्छ ।

पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा बेलनौत विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् ।

यद्यपि देवी पूजनमा प्रयोग हुने बेलपत्रका लागि देवी मन्दिर व्यवस्थापनले पनि यो विधि आयोजन गर्दै आएका छन् । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन गरिने मैथिल परम्परा छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्