Logo
६ आश्विन २०८१, आईतबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले स्थलगत अध्ययन गरेर भन्यो,‘चीनले हुम्लामा नेपाली भूमि मिचेकै हो’

हुम्लामा चीनले नेपालको भूमी नमिचेको सरकारी स्तरबाटै प्रतिक्रिया आइरहेको बेला संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थलगत अध्ययन गरेर चीनले हुम्लामा नेपाली भूमि मिचेको प्रष्ट पारेको छ ।

नेपाल–चीन सीमा निरीक्षणका लागि गएको नेपाली कांग्रेसको टोलीले चीनले नेपाली सीमा मिचेको ठहर गरेको छ।

कांग्रेस टोलीले स्थलगत निरीक्षण, पाका स्थानीयको अनुभव संकलन, दुई देशको सन्धि अनुसार अनुमोदन भएको नक्सा, लिमी र हिल्साका स्थानीयसँग छलफल, जिपिएस प्रविधिको अध्ययन गरी सीमा मिचेको तथ्य प्राप्त भएको निष्कर्ष निकालेको छ।

असोज १४ गते गएर २४ मा फर्केको टोलीले चीनले नाम्खा गाउँपालिकास्थित लोलुङजोङमा निर्माण गरेको भौतिक संरचना नेपालभित्र रहेको निष्कर्ष निकालेको छ। गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किलोमिटर सडकखण्ड चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ।

लाप्चा भन्ज्याङमा निर्माण गरिएको १२ नम्बर सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको अनुगमन टोलीले जनाएको छ। उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई छ महिनाअघि चीनले निर्माण गरेको टोलीले जनाएको छ।

लिमी टाकुल्ले चुचुरोमा रहेका ११ र १० नम्बर सीमास्तम्भ यथावत रहेको टोलीले प्रष्टाएको छ। यसअघि ११ नम्बर पिल्लर हराएको भनी समाचार सम्प्रेषित भएका थिए। हुम्लाका कांग्रेस जिल्ला सभापति जयपति रोकायाले भने, ‘११ नम्बर पिल्लर हराएकै थिएन। गलत प्रचार भएको रहेछ।’

चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्