डा. केसीका माग सम्बोधन नगरे भोलि हुने दुर्घटनाको जिम्मेबारी प्रधानमन्त्रीले लिनुपर्छ : कांग्रेस प्रवक्ता
डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई रहेको छ ।
अनसनको २२ दिन पुग्दा पनि सरकारले वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको शर्माले बताए।
शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरे। अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको उनले बताए।
कांग्रेसले शुल्क समायोजन, अध्यादेश मार्फत ७५ प्रतिशत छात्रवृति, काठमाडौँमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शमाले बताए।
नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उनले बताए। आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पूरा गर्न सरकारलाई अपिल गरेका थिए।