दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप जारी
नेकपा प्रस्तावित लुम्बिनी प्रदेश संसदीय दलले दाङ राजधानीका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन चर्किएको छ । प्रमुख प्रतिपक्ष तथा सत्तारूढ दलका नेताहरू नै असहमति जनाउँदै आएका छन् ।
तर, नेकपाले ह्विप जारी गरेपछि दाङमै राजधानी हुने निश्चित जसतै भएको छ । प्रदेशको स्थायी राजधानी तोक्न दुईतिहाइ मत आवश्यक पर्छ ।
प्रदेश ५ को ८७ प्रदेश सांसद मध्ये नेकपाका ६१ जना छन् । ५८ मत दाङको पक्षमा परेमा दुई तिहाईले राजधानी बनाउने प्रस्ताव पारित हुनेछ ।
कम्तिमा ४ जना नेकपाका सांसदले ह्वीप उल्लंघन गरेमा र नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रस्तावको विपक्षमा मतदान गरेमा मात्र दाङ राजधानी हुनेछैन ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ मत छ । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । कांग्रेसका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन् ।