राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् ।
गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको स्रोतले बताएको छ ।
भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डाक्टर युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक-पटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बन्न सफल भएका हुन् ।
राष्ट्रियसभामा ६ महिनादेखि खाली रहेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा मन्त्रिपरिषद्ले गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय गरेको थियो ।