नेकपा स्थायी कमिटी बैठक जारी, अध्यक्षद्वयको कार्ययोजनाप्रति नेपालको आपत्ति
नेकपाको स्थायी समिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
जारी बैठकमा हालसम्म अहिलेसम्म वरिष्ठ नेता माधवकुमार नेपाल लगायत ९ जना स्थायी समिति सदस्यले बोलेर धारण राखेका छन्।
बोल्नेमा अधिकांश माधव कुमार नेपाल पक्षधरका छन्। उनीहरुले कार्ययोजना माथि टिप्पणी गरेका थिए।
अहिलेसम्म माधव नेपालसहित देव गुरुङ, लिलामणी पोखरेल, घनश्याम भुसाल, मातृका यादव, अष्टलक्ष्मी शाक्य, भिम आचार्य र घुजी पन्तलगायतले आफ्नो धारणा राखेका छन् ।
वरिष्ठ नेता नेपालले भदौ १८ गतेको सचिवालय बैठकमा कार्यदललको प्रतिवेदनको १५ बुँदे ‘कैफियत’ राखेकामा आपत्ति जनाएका छन् ।
अध्यक्षले प्रस्ताव तयार पार्दा एकाधमात्रै समेटिन पुगेका र बाँकी विषय ओझेलमा परेको उनको आरोप थियो । नेता नेपालले एक व्यक्ति एक मुख्य जिम्मेवारी प्रभावकारी रूपमा लागु गर्ने विषयमा जोड दिएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि नै आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । उनले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
नेकपा स्थायी कमिटी असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको थियो । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् ।
सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
टिफिन टाइम भएकाले केहीबेर बैठक स्थगित भएको छ।