Logo
७ माघ २०८१, सोमबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब बनेपा नगरपालिकामा गर्भवती र सुत्केरीको निःशुल्क बीमा गर्ने

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड-१९ बीमा थालिएको छ ।

नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको शुरुआत गरेका छन् ।

“बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ”, उनले भने। उनले कार्यक्रमको शुरुआतसँगै दुवै समूहका ५१ महिलालाई कोभिड-१९ बीमालेख हस्तान्तरण गरेको हो ।

सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन् ।

उनले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड-१९ बीमा गरिने जानकारी दिए । “उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बीमा हो”, उनले भने ।

उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड-१९ बीमा गरिनेछ । प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुने जनाइएको छ ।

सङ्क्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताए ।

उनले भने, “बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।” उनका अनुसार हाल नगरमा सक्रिय सङ्क्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बीमा गरिसकेको जनाएको छ ।

पाँचखाल नपा-४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड-१९ बीमाको प्रक्रिया थालेका छन् ।

लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड-१९ बीमा गरिरहेको बताइ। “प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बीमा गर्न लागेको हुँ”, उनले भने ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्