उपत्यकामा एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा कोरोना संक्रमण दर नघटेको भन्दै थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।
अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।
विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ ।दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए ।
उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’
मन्त्रालयका कोभिड-१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताए ।
उनका अनुसार अहिले पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ ।
उनले भने, ‘अहिले लकडाउन खोल्यो भने संक्रमण झन् बढ्दै जान्छ, अस्पतालमा ठाउँको पनि समस्या हुनसक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुन्छ ।’
तर कतिपय विज्ञहरुले भने निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउनसमेत अनुरोध गरेका छन् ।
उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ ।