कृष्णबहादुर महराको ‘कमब्याक’ तयारी : स्थायी कमिटीसँगै सरकारमा समेत सहभागी हुँदै
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोपपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराको ‘कमब्याक’ हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतबाट गत ५ फागुनमा सफाई पाएका थिए । लगत्तै उनको निलम्बनमा परेको सांसद् पद फुकुवा भएको थियो भने अब उनलाई स्थायी कमिटीसँगै र सरकारमा समेत सहभागी गराउने तयारी भइरहेको हो ।
जबर्जस्ती करणी उद्योगको आरोपमा थुनामा परेर अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा नेकपाको राजनीतिमा ‘कमब्याक’को पर्खाइमा छन् । उनलाई पार्टीको स्थायी कमिटीमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
महरा आफैं पनि राजनीतिमा चाँडै फर्किने बताउँछन् । ‘राजनीतिमा फर्कन्छु । पार्टीको औपचारिक निर्णयको प्रतिक्षामा छु,’ उनले संक्षिप्त प्रतिक्रियामा भने । पार्टी निर्णयपछिमात्रै थप संवाद गर्ने उनको भनाई छ ।
महरालाई फेरि सक्रिय राजनीतिमा ल्याउने तयारी नेकपाभित्र भइरहेको हो। नेकपाका केही नेताले निवासमै पुगेर महरासँग भेट गरेका छन् । उनलाई सक्रिय पार्टी राजनीतिमा ल्याउन र त्यसैअनुसारको भूमिका दिनुपर्ने आवाज नेकपामा उठेपछि उनलाई ल्याउने तयारी छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ महरालाई अदालतले सफाई दिइसकेकाले उनलाई पार्टीले उपयुक्त जिम्मेवारीमा ल्याउनु पर्ने बताए ।
उनले जिल्ला अदालतबाट सफाइ पाए पनि यो मुद्दा पुरनावेदनमा जाने सम्भावना भने बाँकी नै छ । कोरोना महामारीका कारण यो मुद्दा पुनरावेदनमा जान रोकिएको हो ।
मुद्दा पुनरावेदनमा गए पनि कानूनी रुपमा त्यसले उनलाई पार्टीमा सक्रिय हुन नरोक्ने कानूनविद्ले बताएका छन् । तर एकथरी राजनीतिक विश्लेषक भने राजनीतिमा सबै कुरा कानूनीमात्र नहुने भन्दै गम्भीर किसिमको आरोप लागेकाले सामाजिकरुपमा उनको स्वीकार्यता कति होला त्यो पनि हेर्नुपर्ने बताउँछन् ।