Logo
६ आश्विन २०८१, आईतबार
(September 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूखुसी पदाधिकारी नियुक्त नगर्न देउवालाई असन्तुष्ट नेताहरुको चेतावनी

रिक्त विभागमा आफूखुसी पदाधिकारी नियुक्त नगर्न नेपाली कांग्रेसका सभापतिलाई असन्तुष्ट नेताहरुले चेतावनी दिएका छन् ।

सभापति देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गरेका हुन्। देउवाले २० भन्दा बढी विभागमा एक हजार भन्दा धेरैलाई मनोनित गरिसकेका छन्।

शनिबार देउवाइतरका केन्द्रीय सदस्यको बैठकले विधान विपरीत सभापतिले मनोनयनलगायत काम गरिरहेकोले खारेज गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख छ। तर देउवाले चार वर्षे कार्यकाल सकेपछि धमाधम विभाग र शुभेच्छुक संस्थामा एकलौटी मनोनयन जारी राखेका छन्।

शनिबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत सहभागी थिए।

सभापतिले महाधिवेशन प्रभावित पार्ने गरी पद बाँडिरहेकोले अब कसरी अगाडि बढ्ने रणनीति तय गर्न बैठक बसेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

सभापतिले विधान विपरीत के-के काम गरेका छन् भन्नेबारे केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले बैठकमा प्रतिवेदन नै पेश गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए।

विभागलगायतमा सभापतिले गरेका मनोनयन खारेजीका लागि अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने बैठकको निष्कर्ष छ।

‘एकपटक सभापतिलाई भेटेर विधानविपरीत हुने गरी काम नगर्नुस् र अहिलेसम्म गरेका विधान विपरीतका काम खारेज गर्नुस् भन्छौं,’ ती नेताले भने, ‘उहाँले अटेरी गर्नुभयो भने अनशनदेखि घेराउसम्मका कार्यक्रम छँदैछ। हामी विधि विपरीत पार्टी सञ्चालन गर्न दिन्नौं।’

तर अनशन र घेराउका कार्यक्रम कहिलेदेखि गर्ने भन्ने उनीहरूले मिति तय गरेका छैनन्। सभापतिलाई भेटेर सम्झाउने र अटेरी गरेमा अनशनदेखि घेराउका कार्यक्रम गर्ने ती नेताको भनाइ छ।

प्रकाशित मिति: Sep 5, 2020

प्रतिक्रिया दिनुहोस्