आन्तरिक उडान समेत लामो दुरीका यातायात असोज १ देखि चल्ने, संघीय सरकारको निर्णय
संघीय सरकारले अन्तर जिल्ला र लामो दुरीका यातायातका साधनहरु असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई संक्रमण जोखिमको विश्लेषण गरी आइसोलेसन बेडको निर्माणको जिम्मा दिएको छ ।
यसअघि भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना संक्रमणको दर बढ्दै गएपछि असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो ।
नियमित तथा व्यवसायिक आन्तरिक उडानहरु समेत सोही समय सम्मका सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी समेत सम्हालेका अर्थ मन्त्री डा. युवराज खतिवडाले बताए ।
प्रदेशको कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन केन्दको समन्वयमा आइसोलसनको प्रवन्ध गर्नुपर्ने उनले बताए ।
उपत्यकाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइसोलेसन बेड निर्माणको जिम्मेवारी दिइएको छ ।
सरकारी अस्पताल तथा आवश्यकताका अनुसार नीजि, सामुदायिक, शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई प्रयोगमा ल्याएर आइसोलेसन व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
प्रदेश र स्थानीय सरकारले सहजिकरण गर्नुपर्ने
बागमती प्रदेश र स्थानीय सरकारले उपत्यकाभित्र अवश्यकता अनुसार थप व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि सीसीएमसी र मन्त्रालयले सहजिकरण गर्नुपर्ने उनले बताए ।
स्थानीय तहमा बेड सञ्चालनका लागि प्रदेश कोभिड कोषबाट खर्च उपलब्ध गर्नुपर्ने र आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरेको छ ।
त्यसको सम्पूर्ण सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन
साथै बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार गत साउन ४ गतेको जनस्वास्थ्य तथा सुरक्षा पालना गर्ने गरी ‘भदौ १६ गतेदेखि सेवा तथा कार्य सञ्चालन गर्ने’ निर्णय परिमार्जन गर्दै त्यसलाई ‘असोज १ गतेदेखि’ हुने निर्णय गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानबारे पनि सामान्य संशोधन गर्दै दैनिक ५०० यात्री ल्याउन पाउने व्यवस्थालाई ८०० पु¥याइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले आज सञ्चारकर्मीहरूलाई बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भने, “नेपाल आउनपर्ने अवस्थाका गैरआवासीय नेपालीलाई सम्बन्धित देशस्थित नेपालको कूटनीतिक नियोगको सिफारिसमा नेपाल आउन दिइनेछ ।”
नेपालमा अध्ययन गर्ने र परीक्षामा सामेल हुनुपर्ने विदेशी विद्यार्थीलाई कोरोना जिवाणुुबाट सङ्क्रमण नभएको ७२ घण्टाभित्रको प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्ने शर्तमा नेपाल आउन अनुमति दिने निर्णय सरकारले गरेको उहाँले जानकारी दिए ।
सरकारले नेपाल मेडिकल काउन्सिललाई जनस्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्ने शर्तमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ भने त्यस निम्ति आवागमनलगात सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने उनले बताए ।