हरहालतमा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्रीको ‘ब्रिफिङ’
संघीय सरकारको अर्थमन्त्रीमा पुनः युवराज खतिवडालाई नै दोहोर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीलेले आफू निकट नेताहरुलाई ‘ब्रिफिङ’ गरेका छन्।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो कोटाबाट पुनः दोहोर्याउने बताएका हुन् । पछिल्लो पटक नेकपामा उत्पन्न विवादपछि खतिवडालाई नभई महासचिव विष्णु पौडेल या पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाइने अड्कलबाजी चलिरहेका बेला ओलीको यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले खतिवडालाई अर्थमन्त्री बनाउने भन्दै आफू निकट नेताहरुसमक्ष ‘ब्रिफिङ’ गरेको बालुवाटार उच्च स्रोतले बताएका हुन् । उनले आफूसँग असन्तुष्ट नेताहरुलाई पनि अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने संकेत गरेका छन्।
स्रोतले भन्यो, ‘बाहिर जे जस्तो चर्चा भएपनि वास्तवमा प्रधानमन्त्रीको आँखामा अर्थमन्त्रीमा उपयुक्त पात्र युवराज खतिवडा बाहेक अरु छैनन्। त्यस कारण उहाँ हरहालतमा खतिवडालाई अर्थमन्त्री बनाउन चाहनुहुन्छ।’
यता नेता पाण्डे अब्बल भएपनि आफ्नो खेमामा नपरेका र सुरुदेखि नै आफ्नो आलोचकका रुपमा चिनिएका कारण ओलीले पाण्डेलाई अर्थमन्त्री बनाइहाल्ने सम्भावना निकै कम रहेको स्रोतको भनाइ छ।
खतिवडाको अनुपस्थितिमा संघीयता लगायतका खर्चिला सवैधानिक प्रावधानका लागि खतिवडाको विशेष पहलमा विश्व बैंकबाट आइरहेको आर्थिक सहयोग कटौती हुने हो कि भन्नेमा ओलीलाई सबैभन्दा ठूलो डर रहेको पार्टी स्रोत बताउँछ।
अर्थमन्त्री खतिडाको निरन्तरतालाई लिएर पार्टीमा लामो समयदेखि अविश्वास र किचलो कायमै छ। राष्ट्रपतिद्धारा मनोनित भएर राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको गत वैशाख २० गते समयअवधि सकिएको थियो।