नारायणी अस्पतालमा उपचाररत गर्भवती महिला र ७२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका-४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो । त्यही क्रममा उनको मृत्यु भयो ।
हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
२४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
वीरगञ्जमा मृत्यु भएका ४४ जनामध्ये ३२ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन् ।