अस्पतालहरुको वर्गीकरण खारेज, अब सबै अस्पताल ‘कोभिड अस्पताल’
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पतालको संरचनालाई खारेज गरी सबै अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।
आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले यसअघि कोभिड संक्रमितको उपचारका लागि तय गरिएका अस्पतालको तीन तहको संरचनालाई खारेज गर्ने निर्णय भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब त्यसरी वर्गीकरणमा परेका सबै अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ ।
यसअघि देशभर लेभल ३ अस्पताल २३ वटा, लेभल २ अस्पताल १८ वटा र लेभल १ अस्पताल ७ वटा थिए । अब ती सबै अस्पताल कोभिड अस्पताल भएका छन् ।
सबै अस्पतालले कोभिडका बिरामीलाई उच्च प्राथमिकता दिएर उपचार गर्नुपर्नेछ । कुनै पनि अस्पतालले कोभिडका बिरामीलाई अरुतिर रिफर गर्न नहुने र आफ्नैमा उपचार गर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
मन्त्रालयले यो व्यवस्था गरेसँगै अब कोभिड र नन्कोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गराउन पाइने छैन । कोभिड र नन्कोभिडलाई अलग अलग स्थानमा राखेर सुरक्षितसाथ उपचार गर्नुपर्नेछ ।
पहिला तीनवटा तहमा वर्गीकृत भएका अस्पतालहरुले समान रुपमा कोभिड संक्रमितको उपचार गर्नुपर्नेछ । डा. गौतमले थपे-‘कुनै विशेष कारणबिना त्यस्ता बिरामीलाई ती अस्पतालले अन्यत्र रेफर गर्न पाउने छैनन् ।’
मन्त्रालयले यसअघि गरेको वर्गीकरण अनुसार लेभल १ अस्पतालमा आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पिरेटोरी डजिज् तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताललाई तोकेको थियो ।
यस्तै, लेभल २ अस्पताल भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताललाई तोकेको थियो ।
लेभल ३ अस्पताल भनेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, धुलिखेल अस्पताल, सेती प्रादेशिक अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, काठमाडौं मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज रहेका थिए ।