क्वारेन्टिनका लागि होटेलको सूची सार्वजनिक, उद्धार उडान फेरि सञ्चालन हुने
विदेशमा कोरोना तथा अन्य समस्याका कारण अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएको उद्धार उडान फेरि सुरु हुने भएको छ ।
मंगलबार कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को हिजोको बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।
बिहिबार मात्रै सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ ।
अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डौ उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।
होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने उनले बताए । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।
पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने मन्त्री भट्टराईले बताए ।
विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।