Logo
२० कार्तिक २०८१, मंगलबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले राजीनामा दिन पर्दैन, एक सातामा नयाँ निष्कर्ष निक्लिन्छ : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने बताएका छन्।

उनले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताए।

एपी-वान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन्।

विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ।

‘सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन,’ उनले भने, ‘कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।’

कोरोना महामारीका कारण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको पनि उनले बताए।

मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।

प्रचण्डले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा पनि समझदारी बन्ने उनले बताए।

बाहिर हेर्दा प्रचण्ड आफ्नो खोजीमा छ जस्तो देखिए पनि आफूले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन बलियो बनाउन लागेको उनको दावी थियो ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्