Logo
६ आश्विन २०८१, आईतबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा प्रहरीद्धारा १३ राउण्ड हवाई फायर

कुलो थुनेर माछा मारेको विषयमा २ गाउँलेबीच बारामा विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर र ६ सेल आश्रु ग्यास प्रहार गरेको छ । 

सिम्रौनगढ नगरपालिका- ११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका- ६ पटेर्वावासीबीचको विवाद उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन पहिले अश्रु ग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

झडपको क्रममा दुवै पक्षका ९ जना सर्वसाधारण र ४ जना प्रहरी घाइते भएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

ढुंगामुढा र लाठी प्रहारबाट घाइते भएका सबैको अवस्था समान्य रहेको उनले बताए । उनका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्यचौकी तथा क्लिनिकमा उपचार भइरहेको छ । 

पटेर्वातिरबाट बगेर आएको कुलो भगवानपुरका स्थानीहरूले थुनेर माछा मार्न थालेपछि दुवै पक्षबीच विवाद सुरु भएको थियो । 

‘माछा त मार्ने नै भयो डुबान पनि हुने भएकाले त्यो विषयमा विवाद सुरु भएपछि पटेर्वाका वडा अध्यक्षसहितको टोली त्यहाँ पुगेका थिए । विवादको क्रममा ढुंगामुढा लागेर वडा अध्यक्ष घाइते भए’, डीएसपी मिश्रले भने, ‘हाम्रो वडा अध्यक्षलाई कुट्यो भनेर पटेर्वा गाउँका मानिसहरू उठेर आए । यता, भगवानपुरका मानिसहरू पनि उठेर आएपछि दोहोरो झडप सुरु भयो ।’

विवादले उग्र रूप लिएपछि भगवानपुर बजारमा दुईतर्फी लाठी, भाटा र ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले अवस्था साम्य पार्न हवाई फायर गरेको उनको भनाइ छ । 

अहिले त्यहाँको अवस्था समान्य रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्