Logo
६ आश्विन २०८१, आईतबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के मन्त्रिमण्डल पुर्नगठन हुन लागेको हो ? यसो भन्छन् नेकपा प्रवक्ता !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेको समयमै विवाद समाधानको पहलकदमी शुरू भएकाले त्यसमा सन्तुष्ट रहेको बताएका छन् ।

नेकपाले गठन गरेको कार्यदलले पार्टी र सरकारका काम प्रभावकारी बनाउन सुझाव दिने अपेक्षा उनले गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले कार्यदललाई प्रभावकारी बनाउनेबारे छलफल भएको बताए ।

सोमवारको बैठकले महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदललाई अनुमोदन गरेको थियो ।

माधव नेपाल, झलनाथ खनाल लगायतको असन्तुष्टि हो भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदललाई अझ प्रभावकारी बनाउन सचिवालयमा पनि लगेर अनुमोदन गर्नुपर्छ भन्ने सुझाव आएका हुन् । पार्टीको संकट समाधानका लागि दुई अध्यक्षले कार्यदल गठन गर्न नपाउने भन्ने होइन ।’

कार्यदलले छिटोभन्दा छिटो सकारात्मक निष्कर्ष निकाल्ने उनले विश्वास गरे ।

‘प्रधानमन्त्रीले भन्नुभएजस्तै समयमै पहल कदमी भएको छ, काम अगाडि बढेको छ, त्यसप्रति सन्तोष मान्नुपर्ने हुन्छ, केही दिनभित्र निकास निस्कनेमा हामी विश्वस्त छौं,’ श्रेष्ठले भने ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेकपा विवाद ५ दिनमा समाधान हुने संकेत गरेका थिए । त्यो ५ दिनको काउन्टडाउन आज सकिँदैछ ।

मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेरको चर्चा बारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले यसबारे पार्टीमा छलफल शुरू नभएको दाबी गरे । ‘तपाईंहरूले भन्नुभएको कुरा मलाई त थाहा छैन ।

कार्यदलको रिपोर्ट आएपछि मात्र अन्य विषयमा छलफल हुन्छ । पहिला वैचारिक र नीतिगत सहमति भएपछि मात्र त्यस मातहत निष्कर्ष निकालिने हुन् । तपाईंले भन्नुभएका कुनै विषय अहिले छलफलमा छैनन्,’ श्रेष्ठले भने ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्