नेताहरुको तीव्र दबाव पछि नेकपाको सचिवालय बैठक आज बस्दै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बिहान साढे ९ बजे बस्दै छ ।
बैठक बिहान साढे ९ बजे बालुवाटारमा बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।
सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।
पछिल्लो समय अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि सुरु भएको छ ।
६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावमा सहमति जनाए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताएका थिए ।